काठमाडौं, २० पुस । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले महाधिवेशनसम्म राजपामा संयोजक परिवर्तन गर्न नहुने धारणा राखेका छन् ।
चक्रीय प्रणालीअनुसार राजपाको संयोजक राजेन्द्र महतो भएपछि पार्टीका नेता कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपिएको दाबी महासचिव सुमनले गरेका छन् ।
महतोको संयोजकत्वको अवधि सकिन लागेकोले अब अर्का नेता संयोजक हुन्छ भन्ने जिज्ञासामा महासचिव सुमनले भने, ‘अब संयोजक परिवर्तन गर्नुपर्ने आवश्यकता छैन ।’
उनले विधानमा दुई महिनापछि चक्रिय प्रणालीअनुसार संयोजक परिवर्तन हुने व्यवस्था रहेपनि यसभन्दा पहिलाका संयोजक १८ महिनासम्म संयोजक रहेको जिकिर गरे ।
‘ठाकुरजी १८ महिनासम्म संयोजक रहनुभयो, कहीं कतै कुनै समस्या भएन । पछि स्थिति सहज भएपछि महतोजी विधानतः संयोजक हुनुभएको हो ।’
मधेशवाणी रेडियो कार्यक्रममा उनले भने, ‘संयोजक धेरै ठूलो आकर्षक पद होइन । संयोजकले अध्यक्षमण्डलको बैठक संयोजक गर्ने हो । बाँकी सबै निर्णयहरु सामूहिक नेतृत्वमा हुँदै आएको छ ।’
तपाईको प्रतिक्रिया