काठमाडौं, १३ कार्तिक । संविधान संशोधनप्रति केपी ओली नेतृत्वको सरकार गम्भीर नरहेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु विभिन्न किसिमका अभिव्यक्तिहरु दिइरहेका छन् । कसैले छठपछि समर्थन फिर्ता लिने, कसैले समर्थन फिर्ता लिने समय आइनसकेको बताइरहेका छन् ।
यसै सन्दर्भमा राजपा नेपालका सहमहासचिव गजेन्द्र मण्डल भन्छन्, ‘वर्तमान सरकारलाई संविधान संशोधनका लागि राजपाले दबाब दिँदै आएको छ । केही समयसम्म हामी सरकारको कार्यशैलीलाई हेर्नैपर्छ । तत्कालै कुनै निर्णय गरिसक्नुपर्ने अवस्था छैन ।’
‘राजपाले अविलम्ब संविधान संशोधनको प्रक्रिया थाल्नका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि दिइसकेकोले प्रधानमन्त्री सकारात्मक रहेको र छिट्टै नै संशोधनको प्रक्रिया सुरु गर्ने बताउनुभएको छ’ मण्डलले भने, ‘त्यसैले तत्कालै समर्थन फिर्ता लिनुपर्ने वा आन्दोलनमै जानुपर्ने उपयुक्त समय आइसकेको छैन ।’
उनले अहिले राजपा नेपाल आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको र जनस्तरमा जनताको भावना बुझ्ने काम गरिरहेको दाबी गरेका छन् । ‘यदि यो सरकार संविधान संशोधन गर्दैन भन्ने निष्कर्षमा हामी पुग्छौं त्यसपछि आन्दोलनबाहेक अन्य कुनै विकल्प रहँदैन ।’ मण्डलले भने ।
‘आन्दोलनको बाटो त हाम्रा लागि खुल्ला नै छ’ उनले भने, ‘आन्दोलनको तयारी स्वरुप हामी अहिले जिल्ला–जिल्लामा शक्ति संचय पनि गरिरहेका छौं । संशोधनप्रति सरकारको व्यवहार र गम्भीरताबारे पनि जनतालाई अवगत गराउँदै छौं ।’
यदि राजपा आन्दोलनमा जाने निर्णय गर्छ भने प्रदेश सरकारमा रहिरहन्छ कि बाहिरिन्छ भन्ने मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा सहमहासचिव मण्डललाई सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘यदि राजपा आन्दोलनमा जाने निष्कर्षमा पुग्छ भने नैतिकताको आधारमा प्रदेश सरकारबाट पनि बाहिरिनुपर्छ । किनभने एकातिर राज्यसत्ताकै विरुद्ध आन्दोलन र अर्कोतिर राज्यबाट सुखसुविधा लिइराख्ने नैतिकताले दिँदैन ।’
भनेपछि आन्दोलनमा जाने अवस्था आयो भने राजपा प्रदेश २ को सरकारबाट बाहिरिन्छ भन्ने प्रश्नमा उनले निश्चितरुपमा राजपा प्रदेश सरकारबाट बाहिरिनुपर्ने बताएका हुन् ।
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ हुनुपर्छ
मधेशवाणी रेडियो कार्यक्रमको अन्तर्वार्ताको क्रममा सहमहासचिव मण्डलले प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राख्नुपर्ने सुझाव दिएका छन् । उनले मधेश आन्दोलन र मधेशी शहीदहरुको सम्मानका लागि पनि मधेश प्रदेश नै उपयुक्त हुने उनको दाबी थियो ।
राजपाले मधेशका आठ जिल्लालाई नै मधेश प्रदेश स्वीकार गरिसकेको हो भन्ने प्रश्नमा उनले भने, ‘स्मरण रहोस् हाम्रो सीमांकनसहितका मुद्दाहरु अहिले पनि जीवित नै छ र हामी अहिलेको सीमांकनलाई स्वीकार गरिसकेका छैनौं । त्यसैले अहिलेका मधेशका आठ जिल्लालाई मधेश प्रदेश नामाकरण गर्ने र पछि मधेशका अन्य जिल्लाहरु पनि समाहित गर्दै जाने हो ।’
तपाईको प्रतिक्रिया