युवालाई कृषि तथा पशुपालनतर्फ आत्मनिर्भर बनाउनु पर्छ : मन्त्री साह

राजनीति

10/3/2018

राजविराज, १७ असोज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले कृषि र पशुपालनतर्फ युवाहरूलाई आत्मनिर्भर बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको बताए ।

बुधबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा, कार्यक्षेत्र सिरहा र सप्तरी सम्पर्क सेवा केन्द्र राजविराजको उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।

उनले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै आउने दिनमा एकीकृत कृषि फारम परियोजना ल्याउने तयारीमा रहेकोले किसानहरूलाई सेवा लिन सहज हुने बताए ।

संघीय समाजवादी फोरम नेपालका नेतासमेत रहेका मन्त्री साहले विदेश पलायन हुने युवाहरूलाई स्वदेशमै रोजगारका लागि पशुपालन तथा कृषितर्फ आकर्षित गराई आत्मनिर्भर बनाउने योजना रहेका बताए ।

सप्तरी जिल्ला कृषि तथा पशुपालनको क्षेत्र प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले किसान र युवालाई बाख्रा पालन, पशुपालन तथा सहकारी र निजी क्षेत्रमा लगानी लगाई गरिबीलाई न्यून गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने बताए ।

राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, संघीय समाजवादी फोरम नेपाल जिल्ला अध्यक्ष दिनेश यादव, सेवा केन्द्रका प्रमुख ध्रुव प्रसाद यादव, युवा नेता नबनित झा, लक्ष्मण यादब लगायत किसानहरूको उपस्थिति रहेको थियो ।

अब देखि संघीय सरकारको निर्णय बमोजिम जिल्ला पशु सेवा कार्यालय परिर्वतन भई पशु सेवा केन्द्र रहने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ