काठमाडौं, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल गठनको तीन पूरा भई चौथो वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७४ साल बैशाख ७ गते मधेशकेन्द्रित ६ राजनीतिक दल एकीकरण भई राजपा नेपाल घोषणा भएको थियो ।
तत्कालीन ६ वटै पार्टीका अध्यक्षहरुको एउटा अध्यक्षमण्डल बनाइ चक्रीय प्रणालीअनुसार संयोजकको जिम्मेवारी पाउने विधानमा निर्णय गरिएको छ । सोहीअनुसार राजपामा दुई–दुई महिनामा संयोजक परिवर्तन हुँदै आएको छ ।
राजपाका हालका संयोजक शतर्सिंह भण्डारीले एक विज्ञपित जारी गरी चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, मतदाता तथा आम जनसमुदायलाई शुभकामना र बधाई ज्ञापन गरेका छन् ।
अहिले पुरै विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा रहेकोले यस वर्ष कुनै औपचारिक कार्यक्रम नगर्ने संयोजक भण्डारीले जनाएका छन् ।
तसर्थ यस महामारीबाट जोगिन सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का भई दृढ संकल्पका साथ लकडाउनको नियम पालना गर्न गराउन भण्डारीले आग्रह गरेका छन् ।
साथै आफू सुरक्षित रहि आफ्नो वडामा नागरिकहरुलाई राहत लगायत अन्य कुनै प्रकारको समस्याहरु देखिए समन्वयकारी भूमिका निर्वाह गर्न समेत उनले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया