राजपामा आवश्यकताभन्दा बढी कर्मचारी भएकोले हटाइएको हो, आर्थिक हिनामिना भएको छैन : महासचिव सिंह

राजनीति

11/4/2018

काठमाडौं, १८ कार्तिक । आर्थिक अनियमितता गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका कर्मचारीहरु हटाइएको चर्चालाई महासचिव विनोद कुमार सिंहले खण्डन गरेका छन् ।

उनले पार्टीमा कर्मचारीहरुले कुनै किसिमको आर्थिक अनियमितता नगरेको दाबी गर्दै आवश्यकताभन्दा बढी कर्मचारी भएकोले हटाइएको मधेशवाणीलाई बताएका छन् ।

उनले भने, ‘पार्टीमा त्यस्तो कुनै आर्थिक कारोबार नै नहुने गरेकोले आर्थिक हिनामिना हुने कुरा नै आउँदैन ।’ कर्मचारीहरुलाई आर्थिक हिनामिना गरेको आरोपमा हटाइएको आशयका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

‘उक्त समाचार असत्य र निराधार रहेको कुरा सवैको जानकारीका लागी अनुरोध छ ।’ महासचिव सिंहले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘६ पार्टीहरु एकीकर भएर राजपा बनेकोले तत्कालीन ती सबै पार्टीका कर्मचारीहरु राजपामा कार्यरत् थिए’, महासचिव सिंह भन्छन्, ‘राजपामा यति धेरै कर्मचारीहरुको आवश्यकता नरहेकोले दशैं खर्च दिएर सबैलाई ससम्मान पठाइएको हो ।’

राजपामा बढीमा चार÷पाँच जना मात्र कर्मचारी आवश्यक रहेकोले कसलाई हटाउने र कसलाई राख्ने द्विविधा रहेकोले सबैलाई हटाउनुपर्ने बाध्यता भएको महासचिव सिंहले प्रष्ट्याएका छन् ।

उनले भने, ‘राजपाका सबै कर्मचारीहरु योग्य, इमान्दार, लगनशील र पार्टीप्रति प्रतिबद्ध थिए ।’ उनले अब पार्टीले पुनः नयाँ कर्मचारी भर्ना गर्नेसमेत जानकारी दिए ।

‘पार्टीलाई कमजोर पार्न आएका यी र यस्ताखाले अन्य अभिव्यक्तिहरु दुष्प्रचार हो भन्ने पार्टीको ठहर हो । पार्टी कार्यालय छिट्टै भन्दा छिट्टै निरन्तर सुचारु हुने कुरा पार्टी कार्यकर्ता र आम जनतामा राष्ट्रिय जनता पार्टी नेपाल हार्दिक अपिल गर्दछ ।’ सिंहले विज्ञप्तिमा भनेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ