राजपा संयोजकलाई हानको ज्ञापन

राजनीति

1/11/2019

काठमाडौं, २७ पुस । विभिन्न मागहरु राखी आन्दोलित भएका हेल्थ एसिस्टेन्ट एसोसिएसन अफ नेपाल (हान)ले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोलाई ज्ञापनपत्र बुझाएको छ ।

चार दिनदेखि आन्दोलन गरिरहँदा पनि स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायले बेवास्ता गर्दै आएको भन्दै शुक्रबार हानका पदाधिकारीहरुले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

आफूहरुसँग कर्मचारीको परिचयपत्र हुँदा स्वास्थ्य मन्त्रालयमा प्रवेश गर्न रोक लगाएको गुनासोसमेत हानका प्रतिनिधिहरुले गरेका छन् ।

हानको ज्ञापनपत्र बुझ्दै राजपा नेपालका संयोजक राजेन्द्र महतोले भने, ‘तपाइँहरुको माग जायज छ, यसमा राजपा नेपालको पूर्ण समर्थन रहन्छ ।’

उनले हानको मागहरु सरकारले पूरा नगरे अन्तिम विकल्प संघर्ष नै रहेको बताउँदै महतोले भने, ‘तपाइँहरु संघर्ष गर्नुस् हामी साथ छौं ।’ साथै महतोले संसदमा पनि हानका मागहरु उठाउने प्रतिबद्धतासमेत जनाए ।

कर्मचारीलाई जिम्मेवारी दिँदा लोकसेवा आयोगको प्रक्रिया पूरा गरि सेवा प्रवेश वा बढुवा भएको कर्मचारीलाई मात्र दिनुपर्ने, स्थानीय तहमा कर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरि चैन अफ कमाण्ड र हाइरारकीमा कुनै असर नहुने गरी सेवा प्रवेश गरेको आधारमा दिने माग हानको छ ।

यसैगरी, स्थानीय तहको लागि प्रस्तावित संरचनामा शाखा र उपशाखा एवम इकाइ प्रमुखमा वर्गको आधारमा पदीय जेष्ठता हुनु पर्ने, कर्मचारी खटाउँदा सेवामा रहेको ऐन नियममा उल्लेखित सेवा सुविधा र सुरक्षाको शर्तमा कुनै परिवर्तन नहुने गरी खटाउने ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तै, संघीय निजामती ऐनको गठन, सञ्चालन र सेवाको शर्तहरुमा व्यवस्था गर्न बनेको विध्येकमा अन्तर सेवा तथा अन्तर प्रदेश लोक सेवामा प्रतिस्पर्धा गर्ने व्यवस्था हुन् पर्ने र कर्मचारीको वृति विकासको बाटो स्पष्टता साथ सुनिश्चित हुनु पर्ने माग हानले राखेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ