सप्तरी, २५ कार्तिक । दशैँ, तिहार र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आइतबार राजविराजमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
सो अवसरमा नेकपाका प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तनलाई संस्थागत बनाउँदै अघि बढ्न दलहरुबीच मेलमिलाप र एकता आवश्यक भएको बताए ।
प्रदेश सचिव तथा सांसद सुमनराज प्याकुरेलले विकासमा पछाडि परेको तराईको दक्षिण क्षेत्रका प्रत्येक गाउँपालिकाका लागि वर्तमान सरकारले रु दुई करोडको बजेटसहितको विशेष कार्यक्रम छुट्याएकामा प्रशंसा गर्दै विकासको नयाँ लहर ल्याउन जनता जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामप्रीत पासवान र अशोक मण्डल, कार्यदल सदस्य महेश यादव, नेकपाका सहइञ्चार्ज विश्वनाथ साह, पूर्वमन्त्री उमेश यादव, प्रतिनिधिसभा सदस्य सरिता गिरी, प्रदेशसभा सदस्य ताराकान्त चौधरी, राजविराज नगरपालिका प्रमुख शम्भु यादवलगायतले शुभकामना व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया