रौतहटको राजपुर नगरपलिका खुल्ला दिशामुक्त घोषणा

राजनीति

10/1/2018

रौतहट, १५ असोज । रौतहट जिल्लाको राजपुर नगरपालिका छैठौ खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको छ ।

सोमबार राजपुर नगरपालिकाले आयोजना गरेको खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रममा रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद महमद आफताव आलम राष्ट्रिय सरसफाई गुरुयोजना २०६८ अनुसार एक घर एक चर्पीको अवधारण अन्तर्गत नगरपालिकाको सम्पूर्ण घरमा शौचालय निर्माणको कार्य सम्पन्न भई प्रयोगमा आइसकेकोले खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरेका छन् ।

प्रमुख अतिथिको आसन्नबाट समारोहलाई सम्बोधन गर्दै सांसद आलमले संघीय सरकारले अनावशयक रुपमा कर लादेर संघीयतालाई धरापमा पार्न खोजेको आरोप लगाएका छन् ।

उनले असहनीय करको दायरामा नेपाली जनतालाइ ल्याएर दमन गर्न सरकारले खोजेको भने । जिल्ला नमूना बनाउनु पर्ने धारणा राख्दै सरसफाईको क्षेत्रमा आफू पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नगरप्रमुख मोहमद शकील अख्तरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख राम असीस राय यादव, सहायक प्रमुख जिल्ला अधिकार धर्मानन्द जोशी, संघीय प्रेस फोरम नेपाल प्रदेश २ का कोषाध्यक्ष राकेश कुमार यादव सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा खुल्ला दिशामुक्त अभियानमा सहयोग पुर्याएका जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर महमद मुस्ताक आलम, गैरसरकारी संस्था वातावरण तथा बाल विकास परिसदका अध्यक्ष धर्मेन्द्र पासवान ,युएन हैविटेटका दीपेन्द्र ठाकुर नेपाल रेडक्रस सोसाइटीका धर्मेन्द्र सिंह , मिसन साक्षरका शिवशंकर पासवान ,संचारकर्मी प्रवीण टिवड़ेवाल , रमेश ठाकुर , महिला पत्रकार विना राउतलाइ प्रसंशा पत्र सहित गमछाबाट सम्मानित गरिएको थियो ।

नगरपालिकाका सम्पूर्ण वड़ाका महिला स्वयं सेविकाहरुलाई एक एक थान मोबाईल पुरस्कार स्वरुप दिइएको निमित प्रमुख प्रसाशकीय अधिकृत जगत प्रसाद साहले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ