राम मनोहरको शव २५ दिनदेखि अस्पतालमा : बाँकेमा बृहत् जनप्रदर्शन

राजनीति

9/25/2018

नेपालगन्ज, ९ असोज । प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको शव आज २५ दिनदेखि प्रहरीले अस्पतालमै राखेको छ । अन्तिम संस्कार गर्न परिवारलाई शव नदिएको र मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेको भन्दै नेपालगन्जमा बृहत् जनप्रदर्शन भएको छ ।

गत भाद्र ७ गते बर्दिया जिलामा गिरफ्तार भइ भाद्र १५ गते प्रहरी हिरासतमै मृत्यु भएका बाँकेका राम मनोहर यादवको शव अझै पनि परिवारलाई नदिई उनको आत्मालाई बन्दी बनाएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ ।

गठबन्धनले राम मनोहरलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, पीडकलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ ।

यी मागहरु पूरा नभएको भन्दै बाँकेवासी आक्रोशित भएका छन् । मंगलबार त्रिवेणी मोड हुँदै कमल मधेशी चौकलाई परिक्रमा गरी सिडिओ कार्यालय अगाडि भीड जनसभामा परिणत भएको थियो ।

अत्याधिक आक्रोशित भीडलाई नियन्त्रण गर्न स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई हम्मे–हम्मे परिरहेको थियो । जनप्रदर्शनलाई सम्बोधन गर्ने क्रममा प्रमुख वक्ताहरु हरपाल सिंह, राजितराम बर्मा, रियाज अन्सारी, मन्साराम यादव, देवराज मौर्य लगायतले सरकारको कडा आलोचना गरि निन्दा गर्दै परिवारलाई आज २५औ दिनमा पनि शव नदिएको प्रति आक्रोश र दुःख व्यक्त गरेका छन् ।

यता, बाँके प्रहरीका प्रमुख एसपी र जिल्ला प्रशासनका प्रमुख सिडियोले स्वतन्त्र मधेश गठबन्धनका राष्ट्रिय प्रवक्ता अब्दुल खान र पश्चिम क्षेत्रीय संयोजक इरफान शेषलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन उर्दी नै जारी गरेको गठबन्धनले जनाएको छ । देखिने बित्तिकै गिरफ्तार गर्ने चेतावनी पनि दिँदै आइरहेको इरफान शेषले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ