काठमाडौँ, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राजपाका सांसद हुन् ।
२०७४ सालको मंसिरमा भएको निर्वाचनमा निर्वाचित भएपनि चौधरीलाई शपथको साइत भने करीब १३ महिनापछि मात्र जुरेको छ ।
टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।
डिल्लीबजार कारागारबाट प्रहरी गाडीमा राखेर उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पु¥याइएको थियो । त्यहीं सभामुख कृष्णबहादुर महराले उनलाई पद तथा गोपनीयताको शपथ दिलाए । सांसद चौधरीले थारु भाषामा शपथ लिएका छन् । शपथका बेला उनकी श्रीमतीरञ्जिता श्रेष्ठ र छोरा पनि उपस्थित थिए । शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए भने राजपाका नेताहरुले खादा लगाइदिएका थिए ।
राजपाले चौधरीलाई शपथ दिलाउनेलगायतका आफ्ना मागहरु पूरा नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि सरकारले उनको शपथको व्यवस्था मिलाएको हो ।
राजपाका नेताहरुले सांसद चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए ।
चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
उनले चुनाव जितिसकेपछि गत फागुन १४ गते अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए ।
तपाईको प्रतिक्रिया