कश्मीर मुद्दामा राष्ट्रसंघको प्रस्ताव भारतद्वारा अस्वीकार

राजनीति

2/17/2020

काठमाडौं, ५ फागुन । पाकिस्तान भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भारत र पाकिस्तानलाई संयम हुन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव बनेपछि पहिलोपटक पाकिस्तान आएका उनले दुई देशबीचको तनाव कम गर्न राष्ट्रसंघले कदम चालेको दाबीसमेत गरे । 

महासचिव गुटरेसले इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले कश्मीरलाई लिएर पाकिस्तान र भारतबीच बढेको तनावप्रति चिन्ता व्यक्त गरे । 

उनले पाकिस्तान र भारत दुवैलाई संयम बन्न सुझाव दिँदै वार्ताका लागि मध्यस्थता गर्न तयार रहेको बताए । संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको भनाइलाई भारतले भने नकारेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबीश कुमारले भनेका छन्, ‘भारतको अडान पहिलेको जस्तै छ । यसमा कुनै परिवर्तन भएको छैन । जम्मु–कश्मीर भारतको अभिन्न अंग हो, थियो र रहने छ ।’ 

उनले भने, ‘आवश्यकता त त्यो कश्मीरबारे कुरा गर्नुछ, जसलाई पाकिस्तानले जबरजस्ती कब्जा गरेको छ । अन्य कुनै मुद्दा हो भने द्विपक्षीय वार्ता हुन्छ र यसमा कसैको मध्यस्थता आवश्यक पर्दैन ।’ 

पाकिस्तानको सीमापारिबाट भारतमा आतंकवाद फैलाउने काम भइरहेको भन्दै उनले त्यसलाई रोक्नका लागि राष्ट्रसंघले पाकिस्तानलाई दबाब दिने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ