राष्ट्र बैंकले मौद्रिक नीति प्रदेशको वस्तुगत अवस्थालाई हेरेर बनाउनुस् : मुख्यमन्त्री पोखरेल

राजनीति

10/1/2018

चन्द्रकान्त खनाल, रुपन्देही, १४ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्र बैंकलाई संघीय व्यवस्था अनुसार प्रादेशिक तहका कार्यालय संरचनामा जान र मौद्रिक नीति पनि प्रदेशको वस्तुगत अवस्थालाई विश्लेषण गरेर बनाउनु पर्ने बताएका छन् ।

राजनीतिक संघीयता धेरै अगाडि बढेपनि वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आउन नसकेको पोखरेलेको भनाई छ ।

बुटवलमा आयोजित आर्थिक गतिविधि अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अर्थपूर्ण र सार्थक कार्यान्वयनका लागि वित्तीय र प्रशासनिक संघीयता प्रदेश तहमा पनि आउनुपर्नेमा जोड दिए ।

उनले वित्तीय आयोग संवैधानिक रुपमा केन्द्रमा समेत अझै स्थापना हुन नसक्दा त्यो प्रदेशमा आउन झनै ढिलाई हुने बताए । संविधानले प्रशासनिक संगठन तीनै तहमा परिकलपना गरेपनि संघले अझै प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन नगरी व्यवस्थापन मात्रै गरेर प्रशासनिक संघीयता प्रदेश र स्थानीय तहसम्म आउन नदिएको उनको भनाई थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले तथ्यांकलाई प्राथमिकतामा राखेर प्रदेशको आवधिक योजना तर्जुमा गरी आगामी ५ वषभित्र आर्थिक सूचकांकमा प्रदेश ५ लाई पहिलो नम्बरमा पुराउने लक्ष्य रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ