काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन् ।
झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुसँग बुधबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए ।
“यस्ता द्विविधाले पुरानाभन्दा नयाँ नयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो ”प्रधानमन्त्री ओलीले भने “अब कस्ता योजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तीव्रताका साथ अगाडि बढ्छन् ।”
प्रधानमन्त्री ओलीको गृहनगर दमकका प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगतिबारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।
दमक सभाहल निर्माणाधीन अवस्थामा रहेको, पशुहाट बजार केन्द्र सम्पन्न भएको, दमक भूटावरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको यसका लागि ५ विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उल्लेख छ । दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराए ।
तपाईको प्रतिक्रिया