काठमाडौं, ७ भाद्र । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८८ जना नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
आइतबार जसपाको कार्यालयमा आयोजित एक कार्यक्रममा विप्लव माओवादीका मध्य केन्द्रीय कमाण्डका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जिमी)को नेतृत्वमा विभिन्न जिल्लाका ८८ जना नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो लगायतले स्वागत गरेका छन् ।
विप्लव माओवादीका ब्यूरो सदस्यहरु प्रह्लाद फुयाल (जीवन), रौतहट जिल्लाका पूर्व सेक्रेटरी गोपाल जिम्बा लगायत ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ्ग, नुवाकोट र सिन्धुलीसहितका नेता कार्यकर्ताहरु प्रवेश गरेको जसपा कार्यालय सचिव रञ्जित निष्पक्षले जनाएका छन् ।
अध्यक्षद्वय ठाकुर र यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा नवप्रवेशीहरुलाई शान्तिपूर्ण सशक्त एवं गतिशील राजनीतिक सक्रियताको शुभकामनासहित स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया