काठमाडौं, १३ पुस । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा वार्तामा नआएको र सिके राउत समूह राजनीतिक समूहका रूपमा नभएकाले वार्ता हुन नसकेको निष्कर्ष निकालेको छ ।
सरकारले गत भदौ ८ गते नेकपाका नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गरेको थियो ।
सो टोली मूलधारको राजनीतिमा नरहेका तर अवैधानिक रूपमा राजनीतिक गतिविधि सञ्चालन गरेका समूहबीच वार्ता गर्ने कार्यदेश दिएको थियो ।
गत भदौ २५ गते टोलीले पत्रकार सम्मेलन गरेर सहमति÷सम्झौता गरेका र वार्तामा समावेश नभएका सबै समूहलाई छलफल र वार्ताका निम्ति आह्वान गरेको थियो ।
यस अवधिमा २३ वटा विभिन्न समूहसँग औपचारिक वार्तामा समावेश भएको तर विप्लव नेतृत्व नेकपा भने वार्तामा नआएको संयोजक पाण्डेले बताए ।
वार्तामा आएका तीनवटा समूहले आफूसँग भएका हातहतियार वार्ता टोलीको रोहवरमा स्थानीय प्रशासनमा बुझाए र आफूहरू पूर्णरूपमा निःशस्त्र हुँदै मूलधारको राजनीतिक क्रियाकलापमा सभावेश भएको घोषणा गरेको पनि वार्ता टोलीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै वार्ता टोली विप्लवका अवैधानिक गतिविधिलाई नियन्त्रण गरी कानुन कार्यान्वयनको प्रक्रियालाई कडाइका साथ अघि बढाउन उपयुक्त हुने सुझाव दिएको छ ।
राज्यविरुद्ध गतिविधि सञ्चान गर्दे आएको सिके राउत समूहसँगको वार्ता आफ्नो कार्यदेशभित्र नपर्ने भएकाले उक्त समूहसँग भने वार्ता नगरिएको वार्ता टोलीको जिकिर छ ।
तपाईको प्रतिक्रिया