जलेश्वर, २९ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शहीदहरूको सपना साकार पार्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।
महोत्तरीको जलेश्वरस्थित शहीद बाटिकामा मधेश आन्दोलनका शहीदहरूको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानीकै कारण मुलुकमा संघीयता स्थापित भएकोले उहाँहरूको सपना साकार पार्न प्रदेश सरकार पछि नपर्ने प्रतिवद्धता जनाए ।
शहीदहरूको योगदानलाई चर्चा गर्दै उनले शहीदहरूले देखाएको बाटोमा आफूहरू सदैव हिंडिरहने उल्लेख गरे । जलेश्वरनाथ नगरपालिकाका मेयर रामशंकर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक एवं संघीय सांसद महन्थ ठाकुर, राष्ट्रिय सभा सदस्य वृषेश चन्द्र लाल, राजनीतिक विश्लेषक सिके लाल, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरूले सम्बोधन गरेका थिए ।
तेस्रो मधेश आन्दोलनका क्रममा महोत्तरीमा सहादत प्राप्त गरेका गणेश चौधरी, रोहन चौधरी, विरेन्द्र विच्छा, अमित कापर, राम शिला मण्डल, राम विवेक यादवको शालीक निर्माण प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाको आर्थिक सहयोगमा भएको हो ।
तपाईको प्रतिक्रिया