राकेश यादव
रौतहट, ४ भाद्र । केन्द्रीय सरकारको कमाण्डबाट प्रादेशिक सरकारको मातहतमा आएका परिवर्तित जिल्ला कृषि ज्ञान केन्द्र रौतहटको एक कार्यक्रमबीच बिहीबार उद्घाटन गरिएको छ ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालय संघीय संरचना अनुसार प्रादेशिक सरकारको मातहतमा आएपछि कृषि ज्ञान केन्द्रमा परिणत भएको हो ।
प्रदेश २ को कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले ज्ञान केन्द्रको उद्घाटन गरेका हुन् । कार्यालय परिसरमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै राज्यमन्त्री यादवले ज्ञान केन्द्रको माध्यमबाट किसानहरूलाई वैज्ञानिक कृषि उत्पादनको विषयमा जानकारी दिइने बताएका छन् ।
प्रदेश २ को ८ जिल्लामध्ये रौतहटमा पहिलो पटक केन्द्रको उद्घाटन सम्पन्न भएको छ । रौतहट, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, सर्लाही र महोत्तरीमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको ज्ञान केन्द्रको शुभारम्भ रौतहटबाट गरिएको बताउँदै राज्यमन्त्री यादव गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उत्पादन बढाउन आधुनिक ढंगबाट वैज्ञानिक खेती आवश्यकता भएको उनले भने बाहिरी आयत नभएसम्म वर्षभरिको खाना पुग्ने छैन । मधेश आन्दोलनको शहीदको परिवारका लागि प्रदेश सरकारले प्रति परिवार एक दुधालु पशु दिइने योजना लागु भएको बताए ।
राज्यमन्त्री यादवले ३० हजार खोर निर्माणका लागि र ७० हजार रूपैयाँको दुधालु पशु दिइने कार्यक्रम रहेको बताउँदै यसका लागि १ करोड़ २५ लाख रूपैयाँ विनियोजन गरिएको बताए । प्रदेश २ को प्रत्येक जिल्लामा एक–एक वटा सित भण्डारण केन्द्र स्थापना गरिने उनले बताए ।
नेपाल कृषि प्रधान मुलुक भएकोले प्रदेश २ मुख्य कृषि उत्पादनको क्षेत्र भएकोले कृषिमा सरकारको ध्यान केंद्रित भएको उल्लेख गरे । कार्यक्रम जिल्ला समन्वय समितिको अध्यक्ष रामएकवाल राय यादवको सभापतित्वमा सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया