आफ्नै कारणले कम्युनिष्टहरु सकिने प्रचण्डको चेतावनी

राजनीति

2/21/2020

काठमाडौं, ९ फागुन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् । 

भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संस्कार, विचार, राजनीति र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको उल्लेख गर्दै त्यसले राम्रो संकेत नगरेको बताएका हुन् । 

‘कम्युनिस्ट पार्टी, नेता कार्यकर्ताहरु सत्तामा नहुँदा, आन्दोलनमा हुँदा निक्कै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, मन जित्न सक्ने, नभएको सत्ता प्राप्त गर्न सक्ने हुन्छन्, तर कम्युनिस्ट पार्टीहरु सत्तामा पुगिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट बिचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन् र नेपालका इतिहासमा पनि त्यसका संकेतहरु, लक्षणहरु देखिने गरेका छन् ।’ 

सोभियत संघको विघटनको प्रसंग उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट च्यूत हुँदा समस्या आउने गरेको बताए । ‘हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु देखिन थालेका छन्, अहिले नै भइसक्यो भन्या होइन, आजभोलि यसो घटना र्हेयो मान्छेहरु त बिग्रिने, बिग्रिनेतिर जान थाले,’ प्रचण्डले भने । 

कम्युनिस्टहरु सत्तामा गइसकेपछि पद, प्रतिष्ठा, लोभ, लालचा अनि विभिन्न खालका विसंगति, विकृति, भ्रष्टाचारजन्य क्रियाकलपाहरुमा संलग्न हुने गरेको देखिन थालिएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरे । 

निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाको कमिसन काण्डप्रति संकेत गर्दै प्रचण्डले कम्युनिष्टलाई सत्तामा पुगेपछि ढाल्न कुनै ठूलो शक्ति आवश्यक नहुने तर्क गरे । उनले कम्युनिस्टहरु सत्तामा पुगेपछि पद, प्रतिष्ठा लोभ लालचा, बिभिन्न खालका विकृती, विसंगति, भ्रष्टाचारलगायतका क्रियाकलापमा लिप्त हुने गरेको टिप्पणी गरे ।  

प्रचण्डले हिजोको खालखण्डमा मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग गर्न तयार हुने मानिसहरु शासन हातमा आएपछि बिस्तारै जनभावनालाई सम्मान गर्न नसक्ने परिस्थितीमा पुग्ने गरेको विश्वको इतिहास रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ