काठमाडौं, २८ मंसिर । स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ ।
गठबन्धनका प्रवक्ता अब्दुल खानले सार्वजनिक अपिलमार्फत राउतलाई रिहा गर्न माग गरेका हुन् ।
उनले राउतमाथि सरकारले लगातार दमन गरेको र गैर न्यायिक हिरासतमा राखेको आरोप लगाउँदै राउतको परिवारलाई विचल्लीमा पारेको जिकिर गरेका छन् ।
राउत अहिले संगठित अपराध र राजद्रोहको मुद्दामा अनुसन्धानका लागि रौतहट कारागारमा छन् । उनलाई यातना दिन जेल पठाइएको गठबन्धनको आशंका छन् ।
‘राउतमाथि लगाइएका ११ मुद्दामध्ये ५ राजद्रोहको मुद्दामा विशेष अदालतले नै सफाई दिइसकेको छ । सर्वोच्च अदालतबाट समेत राउतले लेखेका किताब, भाषण, नारा तथा क्रियाकलापहरू कुनै पनि किसिमको राजद्रोह या गैरन्यायिक होइनन् भनी नजिर कायम भइसकेको छ’, प्रवक्ता खानद्वारा जारी अपिलमा भनिएको छ, ‘राउत र उनका परिवारमाथि सरकारले क्रुरतापूर्वक अत्याचार गरि बाँच्न नै मुश्किल बनाईदिएको छ ।’
तपाईको प्रतिक्रिया