सीके राउतलाई उपचारको नाउँमा यातना !

राजनीति

1/4/2019

काठमाडौं, २० पुस । राज्य विप्लवको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई उपचारको नाउँमा सुरक्षाकर्मीले यातना दिइरहेको आरोप लागेको छ ।

महिनौंदेखि रौतहट प्रहरीको हिरासतमा रहेका डा.राउतको स्वास्थ्यमा समस्या देखिएपछि चौतर्फी दबाबपछि चेकचाँकका लागि केन्द्रीय कारागार ल्याइए पनि उपचारको नाममा यातना दिइरहेको स्रोतको दाबी छ ।

डा.राउतको किड्नीमा समस्या रहेकोले चिकित्सकहरुले नियमित चेकचाँज गराइरहन सुझाव दिँदा पनि गत बुधबार मात्र उपचारका लागि भनी केन्द्रीय कारागारमा ल्याइएको हो । बिहीबार उनको उपचारका लागि लगिने भनिएपनि अस्पताल नलगिएको गठबन्धनका नेता जासर यादवले गुनासो गरे ।

नेता यादव भन्छन्, ‘अहिले डा.राउतलाई काठमाडौं सुन्धाराको कारागारमा चरम यातना दिइरहेको छ । नेपाल प्रहरीले चोरी, डकैती लगायतका मुद्दामा सजाय भोगिरहेकाहरुसँग राउतलाई राखी दुर्व्यवहार गरिरहेका छन् ।’

डा.राउतसँग कसैलाई भेटघाटसमेत गर्न नदिएको गुनासो छ । कठ्याङ्ग्रिदो चिसोमा हिरासतभित्र डा.राउतलाई कुनै किसिमको ओढ्ने वा ओछ्याउने न्यानो कपडासमेत नदिएको नेता यादवले बताए ।

डा.राउतले लगाएको एउटा जैकेटले मात्रै चिसोमा रात बिताउन बाध्य रहेको नेता यादव बताउँछन् ।

राज्य विप्लवकै मुद्दामा डा.राउतले चार पटकसम्म सफाइ पाइसके तापनि सोही मुद्दामा महिनौंदेखि पुर्पक्षका लागि राखिएको छ ।

शुक्रबार उनलाई चेकचाँज गराउँदा पनि हातको हथकडी खोलिएको थिएन । डा.राउतलाई हिरासतभित्र मानसिक तथा शारिरीक यातना दिइरहेको आरोप गठबन्धनका नेताहरुको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ