संघीयता कमजोर बनाउने तत्वहरुको डिजाइनमा प्रश्नपत्र बाहिर : सांसद यादव

राजनीति

3/31/2019

वीरगंज, १६ चैत । संघीय समाजवादी फोरम नेपालका चर्चित युवा नेता एवम् सांसद प्रदिप यादवले संघीयता कमजोर पार्ने तत्वहरुको डिजाइनमा प्रदेश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिर ल्याइएको आरोप लगाएका छन् ।

फोरम नेपालको वीरगंज महानगरको प्रथम नगर अधिवेशन समारोहलाई सम्बोधन गर्दै पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले प्रदेश नम्बर दुईको सरकारलाई बदनाम गर्ने र संघियतालाई कमजोर पार्न संघिय सरकारको षडयन्त्रको तहत प्रश्न पत्र बाहिर ल्याइएको आरोप लगाए ।

प्रदेश नम्बर २ को सरकारलाई संघीय सरकारले लगाएको आक्षेप गलत भएको बताउँदै सांसद यादवले संघिय सरकारले आफनो कमजोरी लुकाउन प्रदेश सरकारलाई दोष दिएको आरोप लगाए ।

सांसद यादवले भने प्रदेश नम्बर दुईको सरकारलाई संघिय सरकारले कुनै पनि अधिकार दिएको छैन, प्रश्नपत्र छाप्ने,सुरक्षा दिने सबै जिम्मा संघीय सरकारको रहेकोले प्रश्नपत्र कसरी बाहिर आयो यसको जवाफ संघिय सरकारका शिक्षा मन्त्रीले दिनु पर्छ । विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्ने संघिय सरकारका शिक्षा मन्त्रीले आफनो कमजोरी स्वीकार गरेर नैतिक्ताका आधारमा राजीनामा दिनु पर्ने माग समेत गरे ।


पीडित विद्यार्थीहरुको शान्तीपुर्ण आन्दोलनमा केही ठुला राजनितीक दलका घुषपैठीयाहरुले उग्र बनाएको आरोप लगाए । प्रहरीले ती घुसपैठीयाहरुको पहिचान गरेर कार्यवाही गर्न मांग समेत गरे । आन्दोलनमा घाइते भएका विद्यार्थीहरुप्रति दुख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

फोरम नेपाल सबैलाई समेटेर लैजाने पार्टी भएकोले पार्टीलाई एक ढिक्का बनाएर लैजान सबैको सहयोग आवश्यक रहेको बताए । केही विरोधी तत्वहरुले फोरमलाई कमजोर पार्न षडयन्त्र गरि रहेको बताउदै सांसद यादवले पर्सा फोरममा कुनै प्रकारको विरोध नरहेको ठोकुवा गरे ।

कार्यक्रममा सांसद यादवले पार्टी नया निर्माणको क्रममा रहेकोले पार्टीलाई कमजोर गर्ने खालका कुनै पनि कार्य नगर्न आग्रह समेत गरे । कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शशिकपुर मियाले संघिय समाजवादी फोरम नेपाल पर्सामा कुनै किसीमको विवाद नरहेको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ