वीरगन्ज, १६ माघ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा लुटेरामात्र बसेको आरोप लगाएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन् ।
सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको उनको आरोप छ ।
सरकारको नीति र त्यो नीति कार्यान्वयन गर्ने तहमा बसेकाको गलत नियतकै कारण मुलुकको समृद्धि र विकास हुन नसकेको राउतको भनाइ छ ।
संघीय सरकारलाई लक्षित गर्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाले देशका उद्योगी व्यपारीलाई पनि लुटिरहेको आरोप लगाए ।
त्यसैगरी एक अर्को प्रसंगमा राउतले संविधान जारी गरेर दिपावली मनाएका दलले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाए ।
‘हिजो संविधान जारी गर्ने बेला दिपावली गरेर खुशीयाली मनाएकाले नै अहिले संविधान कार्यान्वयन गर्न चाहिरहेका छैनन्। उनीहरु देश लुट्न मात्र व्यस्त छन्’, उनले भने ।
तपाईको प्रतिक्रिया