जनकपुरधाम, ९ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सूचनाको हक कार्यान्वयनमा सबैलाई प्रतिवद्ध हुनु पर्ने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले जनकपुरमा आयोजना गरेको स्थानीयतहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुको लागि सूचनाको हक सम्बन्धि अन्तरक्रया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
उनले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउनुका साथै भ्रष्टाचार न्युनिकरण र पार्द्शितामा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकोले सूचनाको हकलाई पूर्णरुपमा कार्यान्वयन गर्न स्थानीयतहका जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
मुख्यमन्त्री राउतले सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधीभन्दा पनि राष्ट्रसेवक कर्मचारीहरुलाई अगाडी आउनु पर्ने उल्लेख गरे ।
विगतको समयमा प्रदेश नं. २ भ्रष्टाचारको विषयमा धेरै बदनाम भएको उल्लेख गर्दै उनले अबको दिनमा ती बदनामीलाई अन्त्य गर्दै प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी जनप्रतिनिधिहरुको काँधमा आएको स्मरण गराए ।
उनले भ्रष्टाचार न्युनिकरणको लागि प्रदेश सरकारले सुशासन सम्बन्धि ऐन चाँडै ल्याउन लागेको उल्लेख गर्दै ऐन आएपछि गडबडी गर्न खोज्ने जो कोहीलाई पनि कानूनको कठघारामा उभिनु पर्ने दावी गरे ।
प्रदेश सभाले दुई तिन भित्रै करार ऐन पारित गर्न लागेको जानकारी गराउँदै उनले स्थानीय तहमा देखिएको कर्मचारी अभावको समस्या समाधान गरिने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया