काठमाडौं, २१ चैत । नेपाल सरकारले कोरोना संक्रमण विरूद्धको लडाईंमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु इतिहासकै शक्तिशाली भनिएको सरकारका लागि विफलता र लज्जाको विषय भएको साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् ।
अध्यक्ष मिश्रले शुक्रबार एक विज्ञप्ति जारी गरी राजनीतिक तहमा मौलाएको भ्रष्टाचार र अकर्मण्यताले गर्दा राज्यका धेरैजसो अङ्गले जनताको नजरमा विश्वसनीयता गुमाउँदै गएको बताएका छन् ।
‘त्यति हुँदाहुँदै आम नागरिकले शंकाको लाभ दिनुका साथै सरकारलाई यस घढीमा सहयोग गर्दै आएका थिए । तैपनि आफ्नो जिम्मेवारी पुरा गर्न सरकार पूर्णरूपमा विफल भएपछि सेना गुहार्नु राम्रो संकेत होइन ।’ अध्यक्ष मिश्रले भनेका छन् ।
उनले भनेका छन्, ‘तर दोष सेनाको होइन । संकटको घढीमा सरकारको आदेश पालना गर्नु उसको कर्तव्य हो । दोष शक्तिशाली तर अकर्मण्य सरकारकै हो । तुलनात्मक विश्वसनीयता र व्यावसायिक निष्ठा कायम राख्न सकेका राज्यका थोरै अङ्ग मध्ये नेपाली सेना पर्दछ । राज्य दोहन र भ्रष्टाचारमा लिप्त सरकारका बदनियतपूर्ण निर्णयले सृजना गरेको संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउने सरकारको कदम आपत्तिजनक छ ।’
‘२०६९ सालमा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि त्यतिबेलाको राजनीतिक नेतृत्वले सरकारको नेतृत्व नै तात्कालिन प्रधान न्यायाधीशलाई सुम्पिएको थियो । अहिले बढ्दोरूपमा राज्य असफल हुँदै गएको देखिएको छ। संकट गहिरिँदै र सरकार झन कमजोर अनि अलोकप्रिय हुँदै जाँदा फरक रूपमा इतिहासको पुनरावृत्ति नहोस् ।’ अध्यक्ष मिश्रले विज्ञप्तिमा भनेका छन् ।
‘तसर्थ, नेपाली सेनालाई ढाल बनाउने होइन, समस्याको राजनीतिक समाधान खोज्नु पर्छ । अहिलेको यो विषम परिस्थितिबाट पार पाउन साझा पार्टीले गरेको पूर्ववत् माग, प्रमुख दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्र र विज्ञ समूहको निर्माणमाथि हामी पुनस् जोड दिन चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया