सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष : प्रधानमन्त्री

राजनीति

1/1/2019

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् ।

अँग्रेजी नयाँ बर्ष २०१९ को अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सन् २०१८लाई राजनीतिक उपलब्धीको बर्ष पनि भनेका छन् ।

“जननिर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक संक्रमणकालको अन्त्य भयो” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “संक्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को संकल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमूख छौं । राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो ।”

प्रधानमन्त्री ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

“अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक विन्दुमा पुग्नेछ” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिनेछैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ