सबै मिलिजुली प्रदेश बनाउने ध्येयले अघि बढ्नु पर्छ : मुख्यमन्त्री

राजनीति

11/23/2018

जनकपुरधाम, ६ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नरहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको दिगो विकास लक्ष्य मैत्री योजना र बजेट एवं अनुगमन तथा मुल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारी सेवा समयमै प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

मानसिकतामा सुधार नभए ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार नहुने बताउँदै उनले जनतालाई विकासको अनुभूति गराउनुपर्ने उल्लेख गरे ।

‘सबै मिलिजुली प्रदेश बनाउने ध्येयले अघि बढ्नु पर्छ,’ उनले भने । योजना अनुसार काम नहुँदा विकास निर्माण कार्यले गति नलिएको उनले बताए ।

योजना आयोगलाई प्राथमिकता नदिँदा कार्यक्रमहरू परिणाममुखी बन्न नसकेको मुख्यमन्त्री राउतको भनाइ छ ।

गत मंसिर ४ गतेदेखि सुरू भएको तीन दिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा र राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले आ–आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ