काठमाडौं, २३ पुस । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन् । किनकी हाम्रो सामथ्र्य छैन् । यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं । तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं ।’
प्रदेश २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाईएको भन्दै कर्णले गुनासो पोखे ।
उनले भने,‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि प्रदेश २ को सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए । तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरापनि उल्लेख छैन् । यो सहमतिमा हामीले राष्ट्रियसभाको लागि हुने निर्वाचनको लागि २ सिटमा तालमेल गरेका हौं । सिट बाँडफाँडमात्रै हो ।’
उनले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गरे । उनले भने,‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदैछ । चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ । नेकपा विदेशी पार्टी होईन । यो पनि यही देशको पार्टी हो । हामी अहिलेपनि साथमै छौं । हामीबीच सहकार्य बढ्दै जान्छ ।’
तपाईको प्रतिक्रिया