समृद्धिका लागि समानताको पथमा प्रदेश सरकार : मुख्यमन्त्री राउत

राजनीति

2/17/2019

महोत्तरी, ४ फागुन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको समृद्धिको लागि हरेक वर्ग, जात धर्म, तप्काबीच समानता ल्याउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपाल महोत्तरीद्वारा शनिबार सदमुकाम जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजमा समानताको अनुभूति नभएसम्म समृद्धिको कल्पना स्वप्न मात्र हुने भएकोले प्रदेश सरकार समानताको पथमा अगाडी बढेको उल्लेख गरे ।

सदियौंदेखि विभेदमा परेको मधेशी, महिला, मुस्लिम, आदिवासी, जनजाति लगायतलाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ प्रदेश नं. २ को सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री राउतले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान, दलित सशक्तिकरण ऐन, मदरसा शिक्षा बोर्ड, जस्ता कार्यक्रमहरु बारे चर्चा गर्दै यस्ता कार्यक्रमहरुले समाजमा समानता ल्याउने विश्वास समेत व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले समानता र समावेशिताको सबलामा पार्टीको धारणा समेत स्पष्ट रहेको उल्लेख गर्दै पार्टीले केन्द्रदेखि प्रदेशसम्म दिएको जिम्मेवारीहरुले समेत पुष्टि गरिसकेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ