काठमाडौं, ३० फागुन । कोरोना भाइरस फैलिन नदिन भारतले भीसा बन्दको घोषणा गरे पनि हवाई तथा स्थल मार्गबाट आवतजावत गर्ने नेपालीलाई कुनै असर नगर्ने स्पष्ट पारेको छ ।
बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासले एक विज्ञप्ति जारी गरी भारतले शुक्रबार मध्यरातिबाट लागू हुने गरी भीसा बन्द गरे पनि नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई कुनै प्रभाव नपार्ने जनाएको हो ।
भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाललाई हवाई तथा स्थलमार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन । अर्को शब्दमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्राभव पार्ने छैन ।’
भारतले कुटनीतिक तथा केही महत्वपूर्ण भीसाबाहेक विदेशी नागरिकका लागि सबै किसिमका भीसा बन्द गरेको हो ।
दूतावासले सबै नाकाहरुमा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइने पनि जनाएको छ । तर नेपाली वा तेस्रो मुलुकमा यात्रुमा कोभड १९ को लक्षण देखिएमा वा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राखिने पनि विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेपछि भारतले एक महिनाका लागि भीसा बन्दको निर्णय लिएको हो । तर, नेपाली नागरिकको हकमा आवतजावतमा कुनै रोकावट नहुने दूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया