सिमरामा लगानीकर्ताहरुको विशेष भेला गर्दै प्रदेश सरकार

प्रदेश २ को उद्योगधन्धामा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

राजनीति

9/29/2018

जनकपुरधाम, १३ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश २ मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

धनुषा चेम्वर अफ कमर्सको प्रथम कार्यसमितिको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीहरुको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताहरुको सुरक्षाका लागि लगानीमैत्री वातावरण बनाउन आफूहरु तयार रहेको बताए ।

प्रदेशलाई समृद्ध बनाउन सबै पक्षको उतिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीहरुलाई प्रदेश २ को उद्योगधन्धामा लगानी गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘तपाईहरुको सहयोग विना प्रदेशलाई समृद्ध बनाउनु सकिदैन, त्यसैले तपाई सहयोग गर्नुस्, उद्योगधन्धा यस प्रदेशमा शुरु गर्नु वातावरण हामी बनाउँछौ, तपाईको लगानीको सुरक्षा हामी दिन्छौ ।’

असोज १९ गते सिमरामा लगानीकर्ताहरुको विशेष भेला प्रदेश सरकारले गर्न लागेको जानकारी गराउँदै उनले उक्त भेलाबाट औद्योगिक विकासका लागि प्राप्त हुने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिवद्धता जनाए ।

विकास र समृद्धिको लागि सबै पक्षमा साकारात्मक सोच आवश्यक रहेको जिकिर गर्दै उनले समाजमा सकारात्मक सोचको विकासका लागि संचारकर्मीहरुलाई विशेष भूमिका खेल्न आग्रह गरे । उनले भने, ‘हामी अहिले पनि हत्या, अपराधकै समाचारमा रमाइरहेका छौ, संचारकर्मी मित्रहरुले यसमा भूमिका खेल्नुपर्छ, साकारात्मक कुराहरुमा सबैको ध्यान आकर्षित गर्नु पर्दछ ।’

धनुषा चेम्वर्स अफ कमर्शका अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा भएको समारोहमा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश राय, जनकपुरमा उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहसहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ