काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन नापी विभाग नेतृत्वको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी समस्या समाधान गर्न गठित कार्य दललाई निर्देशन दिएका हुन् ।
नेपाल–भारत सीमा समस्या समाधानका लागि गठित कार्यदलको बैठक असोज पहिलो हप्ता काठमाडौंमा बस्दैछ । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमाको एकिन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि नापी विभागलाई निर्देश गरे ।
बैठकमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारतबीचका कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गरेका कारण कतिपय ठाउँमा सीमा निर्धारणमा कठिनाइ भएको लगायतका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया