काठमाडौं, २५ मंसिर । स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले राष्ट्रिय जनता पार्टी नेपालको संयोजक परिवर्तनप्रति कडा टिप्पणी गरेका छन् ।
राजपा नेपालबाट असन्तुष्ट भई छुट्टै राजनीतिक समूह गठन गरेका त्रिपाठीले राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाउनुको मूल कारण सत्तालिप्सा नै रहेको दाबी गरेका छन् ।
मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा त्रिपाठीले भने, ‘महन्थ ठाकुरलाई राजपाको संयोजकबाट हटाउनुको मूल कारण सरकारमा जान राजपाका केही साथीहरु आतूर हुनुहुन्छ । पटक–पटक उहाँहरुले यो विषयमा सत्तापक्षसँग वार्ता गरिसक्नुभएको छ ।’
त्रिपाठीले राजपाका अध्यक्षमण्डलका केही नेताहरुले सरकारमा जान सत्तापक्षसँग पटक–पटक वार्तासमेत गरिसकेको दाबी गरेका छन् । महन्थ ठाकुर सरकारमा जान बाधक भएपछि हटाइएको त्रिपाठीको विश्लेषण छ ।
‘महन्थ ठाकुर संयोजक रहँदा विभिन्न मुद्दाहरु उठाएर सरकारमा जान दिनुभएन भनेर उहाँलाई संयोजक पदबाटै हटाइयो । सरकारमा जान पल्केकाहरु जो राजपत्रांकितरुपमा सरकारमा गइराख्नुपर्छ भन्ने प्रवृत्ति भएका व्यक्तिहरुको अध्यक्षमण्डलमा बाहुल्यता छ,’ त्रिपाठीले मधेशवाणी रेडियो कार्यक्रममा भनेका छन् ।
छठपछि समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने आशयका साथ त्यहीं नेताहरुले बोल्थे तर तिनीहरुको बोली बद्लिएको उनको दाबी छ । उनले भने, ‘समर्थन फिर्ता लिनेबारे विचार विमर्श गर्नुपर्छ भनेर ती नेताहरुले भनिरहेका छन्, यो उनीहरुको सरकारमा जाने तयारी मात्र हो ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका स्वतन्त्र राजनीतिक समूहका संयोजक त्रिपाठीसँग समसामयिक विषयमा गरिएको कुराकानीको पूर्णपाठ शुक्रबार मधेशवाणी पत्रिका तथा वेभसाइटमा प्रकाशित हुनेछ ।
तपाईको प्रतिक्रिया