जनकपुरधाम, ४ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सङ्घीयतालाई बचाउन सफल भएको बताएका दाबी गरेका छन् ।
सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा सङ्घीयता सफल हुने वा असफल हुने कुरा प्रदेश २ को सरकारको सफलता र असफलतासँग प्रत्यक्षरूपमा सम्बन्धित रहेको भनी राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाजलगायतका सरोकारवालाले विश्लेषण गरिरहेको अवस्थामा विभिन्न समस्या, असहयोग र अभावका बाबजुद अहोरात्र खटेर सङ्घीयतालाई बचाउन सफल भएको दाबी गरे । मुख्यमन्त्री राउतले संघीयता बचाउने जिम्मेवारी आफूहरुको भएको भन्दै यसलाई जोगाउन अहोरात्र खटिरहेको बताए । उनले संघीय सरकारको असहयोग गरिरहेपनि आफूहरु संघीयता टिकाउन काम गरिरहेको बताए ।
‘संघीयतालाई सफल बनाउने या असफल बनाउने जिम्मेवारी प्रदेश २ सरकारकै काँधमा छ’ मुख्यमन्त्री राउतले भने, “त्यही भएर संघीय सरकारको असहयोगका वावजुद पनि हामी काम गरिरहेका छौं ।”
प्रदेश प्रहरी ऐन, लोकसेवा आयोग गठनलगायत २३ वटा कानून प्रदेशसभाबाट स्वीकृत, ८० वटा कानून तयारी अवस्थामा र २२ वटा कानून विधायन समितिमा विचाराधीन रहेको, संरचनाको निर्माण, उपलब्ध भएका संरचनाको मर्मतसम्भार लगायतका कार्यलाई प्राथमिकता दिइ तीव्र गतिमा काम भएको मुख्यमन्त्री राउतले जानकारी दिए ।
उनले प्रदेश निजामती सेवा विधेयक निर्माण भई प्रदेशसभामा विचाराधीन रहेको, महिला सशक्तीकरण तथा सामाजिक सुधारका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान असाध्यै उपलब्धिमूलक र जनताले सकारात्मक अनुभूति गरेको बताए । एक प्रश्नको जवाफमा मुख्यमन्त्री राउतले प्रदेशको नाम मधेश प्रदेश नै राख्नेबारे गहन छलफल भइरहेको र सरकारको दुई वर्षको कार्यकाल पूर्णरूपले सफल रहेको पनि दाबी गरे ।
“यो सरकार पाँच वर्षका लागि गठन भएकाले यही सरकार पाँच वर्षसम्म रहन्छ । सरकार परिवर्तनका कुरामा सत्यता छैन,” उनले भने । मुख्यमन्त्री राउतले प्रदेश सरकार पुरै ५ वर्ष चल्ने दाबी गरे । उनले जनता र मधेस आन्दोलनको म्यान्डेड अनुसारको सरकार बनेकाले राजपासँग सहकार्य नटुट्ने समेत बताए ।
तपाईको प्रतिक्रिया