स्वतन्त्रता सेनानी पासवानको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त

राजनीति

11/13/2018

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य एवं स्वतन्त्रता सेनानी सोनेलाल पासवानको निधनमा दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी धनुषा काङ्ग्रेसका क्रियाशील सदस्य १०६ वर्षीय पासवानको निधनमा दुःख व्यक्त गरेका हुन् ।

‘पासवान नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापनाको सङ्घर्षमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो’, विज्ञप्तिमा भनिएको छ ।

पासवानको निधनबाट कांग्रेसलाई अपूरणीय क्षति पुगेको काङ्ग्रेसले जनाएको छ । कांग्रेसले पासवानको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

पासवानको पार्थिव शरीरमा सोमबार काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायत नेताहरूले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ