स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सुरु

राजनीति

3/17/2019

लहान, ३ चैत । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले आगामी रणनीति तय गर्न दुईदिने राष्ट्रिय परिषद् बैठक सुरू गरेको छ ।

सरकारसँग ११बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएको घोषणापछि डा.राउतले आगामी रणनीतिका बारे आफ्ना नेता कार्यकर्ताहरुसँग छलफलका लागि यो परिषद् बैठक बोलाएका हुन् ।

११बुँदे सहमतिको बुँदा नं. २ बारे विभिन्न टिकाटिप्पणी भइरहँदा राउते आफ्नो कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा सुरू भएको बैठकमा मधेशका २२ वटै जिल्लाहरूबाट परिषद् सदस्यहरू सहभागी रहेको राउतनिकट स्रोतले बताएका छन् ।

यो बैठकबाट महत्वपूर्ण निर्णयहरु सार्वजनिक हुने स्रोतको दाबी छ । यो बैठकबाट हुने निर्णयले राष्ट्रिय राजनीतिमा पुनः नयाँ तरंग ल्याउने दाबीसमेत गरिएको छ ।

सो बैठकमा दुई तहको सुरक्षा घेरा पनि रहेको छ । एकातिर नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ भने अर्कोतर्फ राउतका आफ्नै स्वयम्सेवकहरुले कडा सुरक्षा व्यवस्था गरेको छ ।

कार्यक्रममा उपस्थित हुन डा.राउतले नेपाली नागरिकता अनिवार्य हुनुपर्ने उर्दीसमेत जारी गरेका थिए । नागरिकता नभएकालाई प्रवेशमा रोक लगाइएको बताइएको छ ।

स्मरण रहोस्, डा.राउतले केही दिन पहिला नेपाली नागरिकता त्याग गर्न पनि उर्दी जारी गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ