संसदमा गृहमन्त्रीको झुठो अभिव्यक्ति : राउत

राजनीति

9/28/2018

काठमाडौं, ११ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका युवा राम मनोहर यादवको विषयमा संघीय संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले झुठो कुराहरू प्रस्तुत गरेको दाबी स्वतन्त्र मधेश गठबन्धनले गरेको छ ।

गठबन्धनका संयोजक डा.सीके राउतले गृहमन्त्रीको जवाफमा कुनै सत्यता नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी गरेका हुन् ।

राम मनोहरको हिरासतमा भएको मृत्युको सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा गृहमन्त्री बादलले उपचारका लागि अधिकतम् प्रयास गरेको, हेलिकप्टरबाट काठमाडौं ल्याइएको, प्रहरी हिरासतमा मृत्यु नभएको र परिवारलाई राखेर पोष्टमार्टम गरिएको लगायतका कुराहरू जवाफ दिएका थिए । यता, गठबन्धनका संयोजक राउतले यी कुराहरूको खण्डन गरेका छन् ।

गठबन्धनका बाँके जिल्ला संयोजक इरफान शेष पनि राम मनोहरसँगै पक्राउ परेका थिए । उनका अनुसार प्रहरी हिरासतमा आफूहरूलाई प्रहरीले कुटपिट गरेको, इन्काउन्टर गर्ने धम्की दिएको आरोप लगाएका छन् । उनले हिरासतमा राम मनोहर विरामी पर्दा उनलाई प्रहरी कुनै वास्ता नगरेको आरोपसमेत लगाएका छन् ।

उनी भन्छन्, ‘राम मनोहर यादवको मृत्युको कारण रोग होइन, प्रहरीको यातना हो । प्रहरीले हामीलाई हिरासतभित्र कुटपिट पनि गरेका छन् । राम मनोहरजी विरामी पर्दा सुरूमा प्रहरीले कुनै वास्ता गरेनन् । अवस्था बिग्रिदै गएपछि मात्रै अस्पतालमा भर्ना गरियो । विरामी पर्दा उनका परिवारसँग पनि भेट्न दिइएन । अवस्था नाजुक भइसकेपछि मात्र प्रहरीले एम्बुलेन्समा काठमाडौं पठायो तबसम्म ढिलो भइसकेको थियो । गृहमन्त्रीले संसदमा बोलेका कुराहरू पूर्णरूपमा झुठो हो । राम मनोहरलाई हेलिकप्टरबाट होइन, एम्बुलेन्सबाट काठमाडौं ल्याइएको थियो । मृत्यु भएको करिब १०र१२ दिनपछि गुपचुप पोष्टमार्टम गरियो । हामीलाई अथवा पीडित परिवारलाईसमेत बोलाइएन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ