सिरहा, ९ मंसिर । चुनावको समयमा जनतासँग गरेको प्रतिवद्धता अक्षरशः पूरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघीय सांसद राजकिशोर यादवले बताएका छन् ।
मिर्चैया नगरपालिका बडा नं. ९ ढोढनाको चौधरी टोल स्थित आइतबार सामुदायिक भवनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले जनताले महसुस हुने गरी विकास निर्माणका काममा लागि परेको दाबी गरेका छन् ।
उनले भने “यो क्षेत्र बिकासको नाममा सधै ठगिएको छ, यहाँ चुनाबको बेला ठुल–ठुला नेताहरु आएर आश्वासन बाँडेपनि कसैले केहि गरेन, तर तपाईहरुलाई बिश्बास दिलाउन चाहन्छु, कि म त्यस्तो गर्दिन, बिकास गरेर देखाउँछु ।”
“यो कास्टिंग मात्र हो, फिल्म अहिले बाँकी छ” भन्ने प्रसंग जोडदै सांसद यादबले भने “बिकासको काम मात्र सुरुवात भएको छ, २०४८ साल पछिको विकास आफ्नो कार्यकालमा गर्छु, तपाईहरु ढुक्क हुनुस, जनताको माँग अनुसार काम गर्छु ।” उनले भने ।
स्थानीय भरत चौधरीले उपलब्ध गराएको एक कट्ठा जमिनमा भवन निर्माणका लागि सांसद यादबले संसदीय विकास कोषबाट १५ लाख रकम छुट्याएको छ भने वडाले ५ लाख रकम छुट्याएका छन् ।
कुल २० लाखको लागतमा निर्माण हुने ३ कोठे भवन उपभोक्ता समिति मार्फत ६ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको समेत सांसद यादबले बताए ।
जग्गादाता भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मिर्चैया ९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेल, ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, नरहा गाउँपालिका बडा नं. ३ का बडा अध्यक्ष अनिसुल अन्सारी लगायतका उपस्थित रहेको थियो ।
तपाईको प्रतिक्रिया