काठमाडौं, २२ मंसिर । तराई मधेशको विकास निर्माण कार्यमा भइरहेको ढिलासुस्ती एवं अनियमितताका विरुद्धमा आवाज उठाउने उद्देश्यले युवाहरु संगठित भएका छन् ।
शुक्रबार काठमाडौंमा भएको युवाहरुको भेलाले मधेश बिकास मञ्च गठन गर्दै बिकासका मुद्दामा सशक्त आवाज उठाउने निर्णय गरेको छ । काठमाडौंमा अध्ययन एवं विभिन्न पेशामा सक्रिय युवाहरुको सो भेलाले सुभाष साहलाई मञ्चको संयोजक चयन गरेका छन् ।
‘मधेश र मधेशीको नाम लिएर भजाउने र सत्तामा पुगेपछि काम नगरी रमाउनेहरु धेरै भए’ संयोजक साहले भने, ‘अब ती मसिहा तथा वर्षौंदेखि सत्तामा रहेर पनि मधेशको विकास गर्न नचाहने शासकका विरुद्धमा सशक्त आवाज उठाउनेछौं ।’
युवाहरुको भेलाले बर्षौदेखी बनाउँने भनिए पनि अहिलेसम्म बनाउन नसकिएको हुलाकी राजमार्ग आठ लेनको बनाउनुपर्ने, बारा अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौं–तराई मधेह फास्ट ट्याक लगायत राष्ट्रिय गौरवका योजना बनाउन सरकार, राजनीतिक दल तथा तिनका नेतालाई दबाब दिने संयोजक साहले बताए ।
मधेशमा पर्यटनको विकासका लागि मञ्चले लुम्बिनी–गढीमाई–सिम्रौनगढ–जनकपुर जोडने गरी रेलमार्ग निर्माण हुनुपर्ने माग अघि सारेको छ । यसैगरी रक्सौल–बीरगंज–काठमाडौं तथा पूर्व पश्चिाम रेलमार्ग निर्माण छिटो हुनुपर्ने माग मञ्चमा आबद्ध युवाहरुले गरेका छन् ।
मधेशका राष्ट्रिय वनजङ्गल मासेर निर्माण गरिएका भौतिक संरचना हटाउनुपर्ने, हरियो मधेश निर्माणका लागि एक अर्ब बोटबिरुवा रोप्नुपर्ने अभियान शुरु गर्नुपर्ने माग सरकारसंग गर्दै मञ्चले चुरेसंरक्षण गर्न आग्रह गरेको छ ।
मञ्चले मधेशका प्रत्येक स्थानीय तहका प्रत्येक वडामा अत्याधुनिक पुस्तकालय स्थापना गर्नुका साथै शिक्षा, स्वास्थ्य, कानुन, इन्जिनियर, कृषि, लगायतका शिक्षाका लागि आंगिक एवं उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने माग सरकासँग गरेको छ ।
यसैगरी धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक स्थल सिम्रौनगढ, गढीमाई, जनकपुरधाम, सहलेस, लुम्बिनी लगायत क्षेत्रको बिकासका लागि महत्वपुर्ण योजना ल्याउन सरकारसँग माग गरिएको छ ।
मधेशका प्रत्येक जिल्ला सदरमुकाममा राष्ट्रियस्तरको खेलमैदान, सभागृह निर्माण गर्नुपर्ने माग अघि सारिएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने कलैयामा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्नुपर्ने माग मञ्चको रहेको छ ।
बन्द अवस्थामा रहेका वीरगंज कृषि औजार कारखाना, वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना सहितका उद्योगहरु पुनसञ्चालन गर्नुपर्ने र नयाँ उद्योग स्थापना गरी रोजगारीको सृजना गर्नुपर्ने माग मञ्चले अघि सारेको छ ।
तपाईको प्रतिक्रिया