हजारौं नेता कार्यकर्तालाई भित्र्याउँदै राज्यमन्त्री मण्डलले भने, ‘राजपा मात्र मधेशीको घर हो’

राजनीति

10/6/2018

सप्तरी, २० असोज । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले राष्ट्रिय जनता पार्टी नेपाल मात्र मधेशीको आफ्नो घर रहेको बताएका छन् ।

उनले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य दलहरु मधेशीका निम्ति भाडाको घर धारणा राखेका छन् ।

सप्तरी स्थित डाक्नेस्वारी नगर कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै राजपाका सहमहामन्त्रीसमेत रहेका राज्यमन्त्री मण्डलले सो कुरा बताएका हुन् ।

उनले राजपा आफ्नो घर भएको बताउँदै भने, ‘राजपा मधेशी जनताको आफ्नो घर हो, यसमा आफ्नो श्रम पसिना लगाउनुस् ।’

‘भाडाको घरबाट कुनै पनि बेला निकालिन सकिने डर त्रासमा नबस्नुस्’, उनले भने, ‘आफ्नो घर आफ्नै हुन्छ । नेपाली कांग्रेस महेन्द्र नारायण निधिको हुन सकेन महन्थ ठाकुरको हुनसकेन अनि के भाडेभुडे गुलामहरुको हुन्थ्यो ?’

उनले समयमै सचेत भई आफ्नो घर बनाउनतिर लाग्नुपर्ने जिकिर गरेका छन् ।

उक्त कार्यक्रममा एक हजार बढी जना कांग्रेस, कम्युनिष्ट तथा फोरम परित्याग गरि राजपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई राजपा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले अबिर माला लगाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ