काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाएसँगै अध्यक्ष उपेन्द्र यादवले कारबाही प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष यादवले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको हो ।
त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो ।
पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो । उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि फेरि ती सांसदहरुलाई कारबाही गरेको हो ।
तपाईको प्रतिक्रिया