काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका अध्यक्ष महन्थ ठाकुर नै रहेको दाबी गरेका छन् । उनले कसैले आधिकारिकता पाउँदैमा आफूहरुले गठन गरेको जसपा अरुको हुन नसक्ने जिकिर गरेका हुन् ।
शनिबार काठमाडौंस्थित एउटा होटलमा आयोजना गरेको लुम्बिनी प्रदेश नेता कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘जुन उद्देश्यका लागि जनता समाजवादी पार्टी निर्माण गरिएको थियो, त्यो जनता समाजवादी नेपाल बागमती प्रदेशको भेला भनेको यही हो । जसको अध्यक्षता महन्थजीले गरिराख्नुभएको छ । तपाइँ सबैलाई बधाई ।’
वरिष्ठ नेता महतोले लुम्बिनी प्रदेशका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिँदै यो देशमा हुन नसकेको काम भएको बताएका छन् । उनले उपेक्षित तथा विभेदमा परेका जनताको अधिकारका लागि जसपा गठन भएको बताएका छन् ।
‘हाम्रो एक जना अध्यक्ष (उपेन्द्र यादव) दौडि–दौडि निर्वाचन आयोगमा गएर छुटाई दे कि छुटाई दे भनेर निवेदन पो दिएका रहेछन् त ।’ उनले भने, ‘हामीले जुन उद्देश्यका लागि जसपा निर्माण गरेका थियौं, त्यहीं उद्देश्य उसको रहेन भने किन सँगै बस्नुपर्ने ? छुटेर गए भइहाल्यो नि । आखिर त्यहीं भयो ।’
तपाईको प्रतिक्रिया