महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

राजनीति

काठमाडौं, ३२ साउन । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टीमा विवाद भएपछि उपेन्द्र यादव पक्षले पार्टीमा आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

आयोगले गत साउन ११ गते सबै केन्द्रीय सदस्यलाई बोलाएर सनाखत गर्दा ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र यादव पक्षलाई समर्थन गरेका थिए भने महन्थ ठाकुर पक्षमा १६ जना देखिएका थिए । त्यस्तै रेशम चौधरी तटस्थ बसेका थिए ।

यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहने भएको छ ।

आयोगको उक्त निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए र आयोगको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश माग गरेका थिए ।

तर सर्वोच्च अदालतले आयोगको निर्णयले निवेदकलाई तत्कालै अपूरणीय क्षति पुग्ने नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ