काठमाडौं, १ भाद्र । प्रदेश नं. २ का पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका लोकप्रिय युवा नेता सुरेश मण्डलले आफूले गुट परिवर्तन नगरेको स्पष्ट पारेका छन् ।
उनले आफू सुरुदेखि नै जसपा र छाता चुनाव चिन्ह रहेको पार्टीमै निरन्तर रहेको र कुनै पनि गुटमा नलागेको प्रष्ट्याएका हुन् ।
उनी भन्छन्, ‘म पहिला पनि कुनै गुटमा थिएन, जसपा र चुनाव चिन्ह छाता जहाँ रहन्छ त्यहीं म पनि रहेको छु । म कुनै गुटगत राजनीतिमा कहिल्यै लागेको छैन ।’
पूर्वसमाजवादी र राजपा एकीकरण भई निर्माण भएको जसपा नै आफ्नो पार्टी रहेको मधेशवाणीलाई बताए । केही सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा उनीमाथि समूह परिवर्तन गरेको आरोप लागिरहँदा यस्तो स्पष्टीकरण दिएका हुन् ।
मण्डल तत्कालीन महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजपामा हुँदा पनि उपेन्द्र यादवले नेतृत्वको मधेश आन्दोलनबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका युवा नेता मण्डल सिरहा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेश २ को प्रदेशसभा सदस्य हुन् ।
उनी खासगरी युवाहरुमा अति नै लोकप्रिय हुनुका साथै भूईँतहका जनतामाझ पनि अति नै लोकप्रिय र चर्चित नेता हुन् । उनी मधेश आन्दोलनका उत्पादन हुन् ।
तपाईको प्रतिक्रिया