काठमाडौं, ३ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गरेको छ ।
पार्टीको बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सम्मानजनक रुपमा सहभागी हुने निर्णय गरेको हो ।
जसपा नेपाल संघर्षको सहयात्री पार्टी भएकाले वर्तमान सरकारलाई समर्थन गर्दै लोकतन्त्र र राष्ट्रियताको संरक्षण तथा देशको समृद्धि र समग्र विकास योगदान दिन विद्यमान सरकारमा सम्मानजनक ढंगले सहभागी हुने निर्णग गरेको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।
बैठकले टीकापुर प्रकरणमा थुनामा रहेका नेता रेशम चौधरीको रिहाइको माग पनि गरेको छ । बैठकले थारुहट विद्रोहका क्रममा नेताहरूमाथि लगाएको झुठा मुद्दा खारेजीको माग समेत गरेको छ ।
यस्तै बैठकले सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । कार्यक्रम भदौ ९ गते विराटनगरबाट सुरु भएर १३ गते धनगढीमा समापन हुनेछ ।
दुई दिनसम्म चलेको बैठकले विभिन्न १२ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।
तपाईको प्रतिक्रिया