काठमाडौं, ८ भाद्र । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई जिल्लाका पाँच निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्यले भाग लिन नपाउने भएका छन् ।
केन्द्रीय सदस्यता छानबिन समितिले बाँकी राखेका विषय समाधान गर्न साउन ३० गते गठित कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले पाँच निर्वाचन क्षेत्रका नयाँ सदस्यलाई १४औँ महाधिवेशनमा भाग लिन नदिने निर्णयसहितको १० बुँदे प्रतिवेदन बुझाएको हो ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार हस्तान्तरण गरिएको प्रतिवेदनले अरू क्षेत्रका विषयमा पनि निर्णय गरेको छ ।
‘सप्तरी जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर–१, क्षेत्र नम्बर–३ र क्षेत्र नम्बर–४ र बारा जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–४ को नयाँ क्रियाशील सदस्यता १४औँ महाधिवेशनेका लागि स्थगन गरी १४औँ महाधिवेशनपछि प्रक्रिया पु¥याई क्रियाशील सदस्यता दिने,’ समितिको प्रतिवेदनको बुँदा नम्बर ५ (ख) मा भनिएको छ, ‘यी प्रतिनिधिसभाहरूका सबै वडाहरूमा १४औँ महाधिवेशनको प्रक्रियामा नवीकरणले मात्र भाग लिने ।’
समितिको प्रतिवेदनानुसार सप्तरीको क्षेत्र नम्बर–३ अन्तर्गत रुपनी गाउँपालिकाको वडा नम्बर–२ र शम्भुनाथ नगरपालिकाको वडा नम्बर–३, ५, ७, ८, ११ र १२ का नयाँ क्रियाशील सदस्यले पनि १४औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
यस्तै, बाराको क्षेत्र नम्बर–३ अन्तर्गतको फेटा नगरपालिकाको ७ नम्बर वडा, कलैया उपमहानगरपालिकाको वडा नम्बर–१४ र जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर–१४ का नयाँ सदस्यलाई पनि १४औँ महाधिवेशनमा भाग लिन वञ्चित गरिएको छ ।
यस्तै, बाराको क्षेत्र नम्बर–२ अन्तर्गत पचरौता नगरपालिकाका १, २, ६, ७, ८, ९ नम्बर वडा, सुवर्ण गाउँपालिकाका २, ३, ४ नम्बर वडा, देवताल गाउँपालिको वडा नम्बर–४, महागढी नगरपालिकाकाका १, २, ४, ६ र ७ नम्बर वडा र करैयामाई गाउँपालिकाका २ र ५ नम्बर वडाका नयाँ सदस्यले पनि महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
उनीहरूलाई पनि १४औँ महाधिवेशनपछि मात्र क्रियाशील दिने गरी अहिले स्थगित गर्ने निर्णय गर्दै क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ ।
यस्तै क्रियाशील विवाद समाधान समितिले धनुषा–४ र सर्लाही–२ का विषयमा नेताहरूसँग छलफल गरी यही भदौ १२ गते विवाद टुंग्याउने गरी सोमबार प्रतिवेदन बुझाएको हो ।
तपाईको प्रतिक्रिया