काठमाडौं, ११ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उत्पीडित, उपेक्षित तथा सीमान्तकृत जनसमुदायको उत्थान र विभेदबाट उन्मुक्ति नै आफ्नो पार्टीको अभियान रहेको बताएका छन् ।
शुक्रबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा लोसपाको झण्डोतोलन गर्दै अध्यक्ष ठाकुरले यस्तो प्रतिबद्धता गरेका छन् ।
अध्यक्ष ठाकुरले सम्बोधनपश्चात् जारी गरेको एक विज्ञप्तिमा भनेका छन्, ‘मधेशी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिबद्ध छौं ।’
‘लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मस्लिम, शिल्पी (दलित) पछाडि परिएका खस लगायत सिमान्तिकरणमा पारिएका सबैको उत्थान र विभेदबाट उन्मुक्तिको अभियानप्रति सम्पूर्ण निष्ठाका साथ प्रतिवद्ध रहने छ ।’ उनले भने ।
ठाकुरले नेपालको जनताको विविधताको सम्मान, तीनलाई हरेक राजकीय क्षेत्रमा सहभागिताको समान अवसरले नै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सशक्त राष्ट्रिय एकताको एकमात्र आधार हो भन्ने तथ्यलाई लोसपाले आत्मसात गर्ने र आफ्नो यात्राको मूल लक्ष्य निर्धारित गरेको उल्लेख गरेका छन् ।
’लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्यप्रति पूर्ण प्रतिबद्धताका साथ उदित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको स्थापनाको अवसरमा देशभरीका सम्पूर्ण लोकतन्त्रवादी, समानता, विविधता, समावेशिता पहिचान, सम्मानको निम्ति संघर्षरत उत्पीडित सबै क्षेत्र र वर्गको राज्य प्रणालीमा सहभागिता सहितको लोकल्याणकारी संघीय राज्यका समर्थक सबैबाट प्राप्त सहयोगको लागि हार्दिक आभार अभिव्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीको सफल सञ्चालन तथा उपलब्धिपूर्ण अभियानको निम्ति सम्पूर्ण सहयोग, समर्थन र सहभागिताको निम्ति अध्यक्ष ठाकुरले किसान, मजदुर, महिला बुद्धिजीवी, कर्मचारी, युवा, विद्यार्थी, सबैमा अपिलसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया