काठमाडौं, १८ भाद्र । मधेशको अधिकारको लागि लड्ने प्रतिवद्धता गरी मधेशी जनताको मत लिएर संसदसम्मको यात्रा गर्ने मधेशी दलहरु आफू आफूबीच नै लड्दा मधेशको माग र अधिकार संकुचित भएको छ ।
मधेशीको अधिकारको लागि दल खोल्ने नेताहरु त्यसभित्र आफै नअटाउँदा मधेशको मन कुल्चिएको छ । मधशसँग घनिष्ठ सम्बन्ध भन्न रुचाउने दलहरू सत्तासँगको संघर्षकालमा ऐक्यबद्ध हुने तर सत्ताको समिप पर्नासाथ विभाजित हुने राजनीति मधेशमा अब पुरानो भइसकेको छ ।
संगठित भएको एक वर्षमै जनता समाजवादी पार्टी (जसपा) अग्रगामी सत्ता र प्रतिगामी सत्तालाई सरकारमा अड्याउन विभाजित भएको छ । निर्वाचन आयोगबाट जसपाको आधिकारिता उपेन्द्र यादवले पाए पछि महन्थ ठाकुरले लोकतान्त्रिक समाजादी पार्टी (लोसपा) नामक नयाँ दल दर्ता गराएका हुन ।
मधेशको लागि एक भएर लड्ने भनेर एकीकृत भएर जसपा बनाएका यी नेताहरु दुई चिरामा विभाजन भएपछि मधेशी जनमा निराशा छाएको छ ।
विश्लेषकहरुकाअनुसार पार्टीको औपचारिक निर्णयविपरीत ओली नेतृत्वको सरकारमा जाने महन्थ ठाकुरको निर्णय नै जसपामा फुटको बिजारोपण हो । तर जसपा विभाजनमा ठाकुरसँगै यादव पनि उत्तिकै जिम्मेवार हुन ।
कुनै राजनीतिक सिद्धान्तभन्दा पद र प्रतिष्ठका लागि नै पार्टी विभाजन भएको हो । तात्कालीन प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने कि नगर्ने विवाद उत्कर्षमा पुग्दा आफनो प्रतिष्ठा जोगाउन नै जसपा विभाजनको मुख्य कारण बनेको हो ।
अन्ततः न ओली सरकार रह्यो न उनलाई टिकाउन पुगेका टेकोहरू नै रहे । जसपाभित्र परेको चिराले नेताको मात्र नभई मधेशको मन पनि फाटेको छ । मधेशले चाहेको बलियो, कसिलो मधेशी शक्ति हो । उनीहरू मिल्दा मधेशको मतको वजन पनि बढ्छ भन्ने विश्वास मधेशी जनतामा छ ।
२०७२ को निर्वाचनमा सहकार्य गर्दा मधेशको मतको भार संघीय समाजवादी र राजपा पक्षमा परेको थियो । जसका कारण यी दुई दलले प्रदेश २ अर्थात् कोर मधेशमा सरकार बनाउन सफल भए । मतकै मागअनुसार पछि दुवै दल एकीकरण पनि भए ।
जसपा फुटेपछि मधेशको मत पनि बाँडिन्छ । २०६४ देखि २०७२ सालसम्मको निर्वाचनमा मधेशी दललाई परेको मतलाई मूल्यांकन गर्दा पहिलो संविधानसभामा मधेशी एक ढिक्का हुँदा मधेशभरि जितको झन्डा फहराएको मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा अखाडामै नराम्ररी पछारिएको थियो । अब आउने निर्वाचनमा पनि असर देखिने निश्चित छ ।
मधेशी शक्ति भनेर लोकप्रिय जसपा आफूलाई राष्ट्रिय पार्टी भनेपनि यसको जनाधार र तागत मधेश नै हो । मधेशी शक्ति संगठित हुँदा मधेशको मनमा भरोसाको पालुवा पलाउँछ । शक्ति विभाजित हुँदा मधेशको मन फाट्छ । मधेशी शक्तिमा फुट नयाँ होइन, यसअघि पनि पटक–पटक भएका छन् ।
मधेशमा रंगभेदको अन्त्य गर्न २००८ सालमा कुलानन्द झा नेतृत्वको तराई कांग्रेस २०१५ को पहिलो संसदीय निर्वाचनपछि विभाजित भए । त्यसपछि २०४० सालमा गजेन्द्रनारायण सिहंले सद्भावना परिषद् गठन गरे ।
बहुदल आएलगत्तै २०४७ वैशाखमा सिंहले सद्भावना पार्टी गठन गरे । पहिलो आम निर्वाचनमै सिंह नेतृत्वको सद्भावना पार्टीले संघीयताको नारा बुलन्द गरे । पछि सद्भावना पनि विभाजनको सिकार भएर टुक्राटुक्रामा छरिए । मधेशको मुद्दा बोकेर नेता बन्ने सत्तामा पुगेपछि मुद्दा बिसाउने क्रम चलिरह्यो ।
जसका कारण मधेशी जनमा आक्रोश र असन्तुष्टिको आकार बढ्दै थियो । जसलाई क्यास गर्न उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम खोले । संघीयता र रंगभेदको अन्तको मुद्दा बोकेका यादव २०६३ माघ १ मा जारी अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि माइतीघरमा संविधानको प्रतिलिपि जलाए ।
उनी पक्राउ परेपछि मधेशमा आन्दोलन उठ्यो । आन्दोलन व्यापक बनेपछि मधेसी जनअधिकार फोरम, उपेन्द्र यादव र मधेशको पहिचान स्थापित भयो । मधेसी जनअधिकार फोरम दलका रूपमा २०६४ वैशाखमा निर्वाचन आयोगमा दर्ता भयो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा फोरमले ५२ सिट जित्यो ।
महन्थ ठाकुरको नेतृत्वमा हृदयेश त्रिपाठी, महेन्द्र राय यादव, रामचन्द्र राय, वृशेषचन्द्र लाल, रामचन्द्र कुशवाह, अनिश अन्सारीलगायतका नेताहरूले २०६४ पुस १३ गते तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरेर संविधानसभा निर्वाचनमा भाग लिए ।
यो दलले ११ सिट जितेको थियो । संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दहाल नेतृत्वको सरकारमा बलियो उपस्थित दर्ज गरेको फोरममा दरार पर्न धेरै समय लागेन ।
भाग्यनाथ गुप्ताले २०६४ भदौ १५ गते फोरम फुटाएर मधेसी जनअधिकार फोरम, मधेस गठन गरे । त्यसपछि त फोरममा पहिरो जान सुरु भयो । अमर यादवले २०६५ चैत ७ गते विभाजन गरेर मधेस तराई फोरम गठन गरे ।
दाहालपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारमा जाने विषयमा विवाद भएपछि संसदीय दलका नेता विजयकुमार गच्छदारले २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए । उनले अर्का नेता शरतसिंह भण्डारीको साथमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे ।
फोरम फुटाएका गच्छदारको फोरम लोकतान्त्रिक पार्टी पनि धेरै समय सग्लो रहन सकेन । भण्डारीले २०६९ असारमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । फोरम लोकतान्त्रिक विभाजन गरी संजयकुमार साहले २०६७ पुस ६ गत्ते मधेस क्रान्ति फोरम गठन गरे । २०६८ माघ ६ गते उपेन्द्र झाले नागरिक रक्षा दल गठन गरे ।
२०६८ जेठ ९ गते जयप्रकाश गुप्ताले फोरमका राजकिशोर यादवसहित १३ सभासद्सहित मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठन गरे । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत गुप्ता सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल पुगेपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टी नेतृत्व गरे ।
फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले २०६९ पुस ११ गते उही नामको अर्को पार्टी गठन गरे । फुटको पहिरो फोरममा मात्र सिमित रहेन । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पनि २०६७ पुस १६ बाट फुट सुरु भयो । तमोलोपाका तत्कालिन महामन्त्री महेन्द्र राय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल गठन गरे ।
महतो नेतत्वको सद्भावनाका नेता रामनरेश राय यादवले विभाजन गरी २०६८ माघमा राष्ट्रिय सद्भावना पार्टी गठन गरे । उनको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्र राय यादवको ‘तमलोपा–नेपाल’बीच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो र अध्यक्ष बने महेन्द्र राय यादव । २०७४ वैशाखमा ६ वटा मधेश केन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी गठन भयो ।
२०७६ वैशाखमा संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बन्यो । २०७७ वैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी (जसपा) बन्यो । बलियो मधेशी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेसँग मधेशीको चेहरा खुसीले भरिएका थिए ।
तर जसरी मधेशी शक्तिको संगठित स्वरूप जसपाको निर्माणले मधेशको मन खुसीले भरिएको थियो त्यसरी नै आज विभाजन हुँदा मन फाटेको छ । मधेशको शक्ति कमजोर हुँदा केवल मधेशी दल वा नेतालाई मात्र होइन मधेश मुद्दालाई समेत कमजोर बनाउँछ ।
साथ हुँदामा जति शक्ति हुन्छ अलग हुँदा त्यति नै कमजोर हुन्छ , मधेशमा मधेशी नेताहरुले नै आफ्नो तागत आफ्नै कारण कमजोर बनाउन पुगेका हुन ।
जसपा विभाजनको बाछिटा राष्ट्रिय राजनीतिमा अवश्य पर्छ । आआफ्नो जुक्तिलाई सान्दर्भिक देखाउन मधेशी नेताहरूले तर्क गरे पनि, उनीहरुको ध्येश सत्ता राजनीति नै हो । दलभित्रको अस्थिरता, सैद्धान्तिक विचलन, संस्थागत कमजोरी र चर्को मूल्य स्खलनले मधेशी नेताहरु संगठन जमानउन असफल भइरहेका छन् ।
सत्ताको जोडघटाउमा कोही मधेशी नेता बढीमा मन्त्रीसम्म बन्न सक्ला तर मधेशले राष्ट्रलाई दिन खोजेको राजनीति त्यति मात्र होइन । मधेशले राज्य र समाजको रूपान्तरण खोजेको छ, जो जसको जग अहिलेसम्म तयार हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया