काठमाडौं, ७ असोज । जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने बताएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले बताए ।
‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन,’ उनले भने ।
मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अध्यक्ष यादवको भनाइ छ ।
यो अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्थालाई नै धरापमा पर्ने चेतावनी दिदै उनले भने, ‘यसलाई आजै खारेज गर्ने कि भोलि प्रधानमन्त्रीले भन्नुहोला । यो खारेज हुनुपर्छ ।’
केन्द्रीय समिति र संसदीय दल मध्ये एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।
तपाईको प्रतिक्रिया