काठमाडौं, १९ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछ ।
मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले सरकारमा जाने औपचारिक निर्णय गर्दै चार मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरुको विषयमा छलफल गरेको छ ।
बैठकपछि नेता राजकिशोर यादवले आफ्नो पार्टीले चार वटा मन्त्रालय पाएको र पार्टीले मन्त्रिहरुको टुंगो लगाउने जानकारी दिए ।
मंगलबार विहान बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले दलहरुबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति गरेको छ ।
सहमतिअनुसार जसपाको भागमा चार वटा मन्त्रालय परेको छ । जसपाले भौतिक पूर्वाधार, कृषि विकास मन्त्रालय, संघीय मामिला र वन मन्त्रालय पाएको छ ।
पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै भएकोले कसलाई सरकारमा पठाउने भन्नेबारे बैठकमा निर्णय भएको छैन । नेता यादवले भने, ‘पार्टीले मन्त्री पठाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।’
अध्यक्ष यादवले बुधबार कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।
वर्तमान सरकारमा यादव आफै सहभागी नहुने भएका छन् । जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित बनेको छ । उपप्रधानमन्त्री नपाएपछि यादव आफै सरकारमा नजाने लगभग पक्का भएको हो ।
अध्यक्ष यादव मात्र होइन, शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने सम्भावना रहेको छ । उनीहरुले सरकार र संगठनमाथि निगरानी गर्ने बैठकमा छलफल भएको छ ।
तपाईको प्रतिक्रिया