लोसपा सरकारमा जाँदैन : अध्यक्ष ठाकुर

राजनीति

बारा, २१ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।

उनले वर्तमान सरकारमा पार्टीको सहभागिताबारे आफ्नो पार्टीमा अहिलेसम्म कुनै निर्णय नभएको पनि स्पष्ट पारे ।

बाराको कलैयामा बिहीबार लोसपाको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले भने, ‘सरकारमा जाने बारेमा अहिलेसम्म पार्टीले कुनै निर्णय नै गरेको छैन ।’ प्रधानमन्त्री शेरबहादुर देउवाबाट सरकारमा सहभागिताको लागि औपचारिक आग्रह पनि नआएको ठाकुरले स्पष्ट पारे । 

अध्यक्ष ठाकुरले, ‘उपेन्द्र यादवले नै जसपा पार्टी फुटाएका हुन । उपेन्द्रले पार्टीको विवाद निर्वाचन आयोगमा लगेर जसपा फुटाए ।’

कार्यक्रममा लोसपाको प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको रवैयाका कारण संघीयता नै धरापमा परेको आरोप लगाए ।

प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनलले भने, ‘मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टचारबारे अख्तियारले छापा मार्दा संघीयता कमजोर हुने होइन बरु मुख्यमन्त्रीको अहिलेको रवैयाले संघीयता धरापमा परेको छ ।’   

उनले मुख्यमन्त्री राउतले मधेश र मधेशी जनताको भावना विपरित गतिविधि संचालन गरिरहेको आरोप समेत लगाए ।

लोसपाका नेता समेत रहेका जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एकबाल मिया, लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ बाराका अध्यक्ष  सन्तोष यादव लगायतको पनि सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ